बिटक्वाइनकाे सम्पूर्णा नालीबेली

नेपाल प्रहरीले बिटक्वाइनका कारोबारी र बिटक्वाइन उत्पादनकर्तालाई पक्राउ गरेका खबरहरू सार्वजनिक हुन थालेपछि बिटक्वाइन भनेको के हो ? र यो कसरी गैरकानुनी कार्य हो ? भन्ने जिज्ञासा सर्वसाधारणमा देखिएको छ । 
बिटक्वाइन के हो ?
नेरु, भारु, डलर भनेजस्तै बिटक्वाइन एक प्रकारको मुद्रा अर्थात् पैसा हो । नेरु, भारु, डलर आदि भौतिक मुद्रा हुन् भने बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । बिटक्वाइन भने विश्वको जोकोही सर्वसाधारणले कम्प्युटरमा सिर्जना गर्न सक्छन् ।
अन्य मुद्राजस्तै बिटक्वाइनले सरसमान किन्न, भुक्तानी गर्न सकिन्छ । तर, सबै ठाउँमा यो मुद्रा चल्दैन । जापान, अमेरिका, युरोपलगायत विकसित देशमा यो मुद्रा चल्छ । बिटक्वाइन ओपनसोर्स सफ्टवेयरमा आधारित क्रिप्टोकरेन्सी हो । बिटक्वाइन मनलाग्दी सिर्जना भने हुँदैन । यसको सफ्टवेयरमा नियन्त्रण प्रणाली हुन्छ । सुन वा डलर किनेजस्तै बिटक्वाइन पनि किनेर प्राप्त गर्न सकिन्छ ।
बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्छ । यसका लागि इन्टरनेट पनि जरुरी हुन्छ । एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्न सकिन्छ ।
वैध कि अवैध
नेपाल सरकारले नेपालभित्र नेपाली मुद्रा कारोबार मात्र वैध मानेको छ । नेपाली मुद्राबाहेक अन्य मुद्रा विदेशमा कमाएर ल्याउन पाइन्छ, तर नेपालमा त्यसलाई बैंक वा मनी चेन्जरमार्फत नेपाली मुद्रामा साटेर मात्र कारोबार गर्न पाइन्छ ।
विदेश जाँदा विदेशी मुद्रा चाहियो भने प्रयोजन खोलेर बैंकबाट किन्नुपर्छ । बिटक्वाइन भने यसैगरी पनि खरिद–बिक्री गर्न पाइँदैन । बिटक्वाइन किन्न नेपालबाट विदेशमा पैसा गएको छ भने त्यो नेपालको कानुनबमोजिम छैन । त्यसो त नेपालबाट हुने विभिन्न कारोबार गर्न भुक्तानी भएका पैसा कानुनसम्मत छैनन् । 
बिटक्वाइन उत्पादनलाई भने नेपाली कानुनअनुुसार अवैध मान्नु मिल्दैन । नेपालमा बिटक्वाइन सिर्जना गर्दा नेपालबाट मुद्रा बाहिरिँदैन र दोस्रो व्यक्ति ठगिँदैन; तसर्थ यो विदेशी मुद्रा अपचलन र ठगी दुवै होइन । अनुमति नलिई चियापसल पनि खोल्न पाइँदैन भन्ने कानुनको आधारमा बिटक्वाइन सिर्जना पनि गैरकानुनी हुन सक्छ । 
अन्य विदेशी मुद्रा साथमा हुने वा विदेशी मुद्रामा अन्य वस्तु तथा सेवा किनेका व्यक्तिलाई सरकारले केही नगर्ने तर बिटक्वाइनलाई मात्र तारो बनायो भने यो पूर्वाग्रही, गैरन्यायिक र कानुनी शासनविपरीत हुन्छ । बिटक्वाइन किनेर फाइदै फाइदा हुन्छ भन्दै सोझासीधालाई ललाइफकाइ बेच्ने काम गरेको छ भने त्यसलाई ठगी कार्यका रूपमा लिन सकिन्छ । 
बिटक्वाइन, सुन, डलर, सेयर आदिलाई सट्टेबाजी वा जुवाका रूपमा उपयोग गरेर पैसा कमाउन खोज्ने मानिसहरू हुन्छन् । सट्टेबजार वा जुवामा सबै लगानी गुम्न पनि सक्छ वा एक्कासि ठूलो आम्दानी हुन पनि सक्छ ।
राज्यको दायित्व सट्टेबाजी वा जुवा नखेल्न जनतालाई आग्रह गर्ने, सचेत पार्ने र जोखिमबारे जनचेतना फैलाउने हो । तर, सचेत पार्दापार्दै कोही हामफाल्छ र डुुब्छ भने सरकारले कारबाही गर्नु वा उद्धार गर्नु उचित होइन ।

 बिटक्वाइनको मूल्य
बिटक्वाइन चलनचल्तीमा आउँदा यसको मूल्य १ बिटक्वाइन बराबर ०.०९ डलर थियो । २०१७ अप्रिलमा १ हजार डलर पुुगेको थियो । बिटक्वाइनको मूल्य एक्कासि बढ्ने र एक्कासि घट्ने हुँदै आएको छ । अक्टोबर १३ तारिकमा ५ हजार ७ सय डलर कायम भएको छ । केही दिनअघि ५ हजार डलरबाट एक्कासि ३ हजार ५ सय डलरमा झरेको थियो । 

बिटक्वाइनको निकै सानो एकाइ बनाइएको छ । १० करोड सतोषीको एक बिट क्वाइन हुन्छ । अहिले विश्वमा हुने कारोबारमध्ये हप्तामा १ ट्रिलियन डलरबराबर बिटक्वाइनबाट हुन्छ । सबै मुद्रा हप्तामा ७० ट्रिलियन डलर कारोबार हुन्छ ।

विदेशमा के हुन्छ ?
हालै अमेरिकामा एक अधिकारी र एक प्रोफेसरहरूले बिटक्वाइनबारे सार्वजनिक अभिव्यक्ति दिएका छन् । यसलाई उनीहरूले बबल अर्थात् पानीको फोका हो भनेर टिप्पणी गरेका छन् । बिटक्वाइनको मूल्य अहिले हावामा बढेको हो, एक दिन शून्यमा झर्छ र बिटक्वाइन साथमा हुनेहरू डुुब्नेछन् भन्ने अनुमान उनीहरूको छ । हालै चीनमा सरकारले बिटक्वाइन एक्सचेन्जलाई कारोबार नगर्न निर्देशन दियो ।
जापान सरकारले बिटक्वाइनलाई भुक्तानीको साधनका रूपमा मान्यता दिएको छ । विश्वमा अरू कुनै देशका सरकारले भुक्तानी साधनका रूपमा मान्यता दिएका छैनन् । तर, विकसित देशमा बिटक्वाइन खरिद–बिक्री गर्ने उद्देश्यले खुलेका एक्सचेन्जलाई सरकारहरूले कुनै प्रतिबन्ध लगाएका छैनन् । एक्सचेन्जसँग आयकर र कारोबारीहरूसँग पुँजीगत लाभ कर लिएका छन् । बिटक्वाइन कारोबारीलाई धरपडक गर्ने कार्य विकसित मुलुकमा गरिँदैन, त्यहाँ व्यक्तिगत स्वतन्त्रताको उच्च सम्मान गरिन्छ ।
माइनिङ
बजारमा नयाँ बिटक्वाइन सिर्जना हुने प्रक्रियालाई माइनिङ भनिन्छ । यो दुई व्यक्तिबीच बिटक्वाइनको कारोबार हुँदा भेरिफिकेसन गर्ने कार्य हो । सबै व्यक्तिसँग भएको बिटक्वाइनको रेकर्ड ब्लकचेनमा रहेको हुन्छ । ब्लकचेनमा भएको बिटक्वाइन कारोबार गर्न खोजेको हो भन्ने पुष्टि गर्ने कार्य माइनिङ हो । माइनिङ सफ्टवेयर डाउनलोड गरेर जोकोहीले माइनिङ गर्न सक्छ । माइनिङमा सफलता पाउन उच्च गतिको इन्टरनेट, निरन्तर विद्युत् आपूर्ति, हाई प्रोसेसर कम्प्युुटर र माइनिङ डिभाइस हुनुपर्छ । 
एक व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा बिटक्वाइन पठाउँदैछ भने ब्लकचेनबाट कन्फर्मेसन आएपछि मात्र त्यो कारोबार सफल हुन्छ । यसका लागि १० मिनेट समय लाग्छ । विश्वका विभिन्न ठाउँबाट धेरै व्यक्तिले माइनिङ गरिरहेका हुन्छन् । १० मिनेटमा जम्माजम्मी नयाँ १२.५ बिटक्वाइन सिर्जना हुन्छ । त्यो बिटक्वाइन माइनिङ गर्नेलाई अटोमेटिक बाँडिएर खातामा प्राप्त हुन्छ ।
ब्लकचेनको स्टोर

सबै बिटक्वाइन धनीको कारोबारको रेकर्ड ब्लकचेनमा थपिंदै जान्छ । यसको डाटाबेस कुनै व्यक्ति वा कम्पनीले राखेको हुँदैन । विश्वभर जति जनाले माइनिङ एप्लिकेसन प्रयोग गर्छन् ती सबैको कम्प्युटरमा यो रेकर्ड हुन्छ । त्यसैले यसको रेकर्ड हराउने वा नष्ट हुने सम्भावना हुँदैन । यसको नियम कसैले बदल्न सक्दैन ।
सुरुवात
यसको आविष्कार कसले ग¥यो भन्ने थाहा छैन । सतोषी नाकामतो भन्ने छदम नाम राखेका व्यक्तिले यो सफ्टवेयर लन्च गरेका हुन् । उनले सन् २००९ मा यो लन्च गरे । सुरुमा उनले ५० बिटक्वाइन भिन्दै तरिकाले सिर्जना गरे । त्यसपछि ती बिटक्वाइनलाई एक–अर्कामा आदानप्रदान गरेर माइनिङलाई तीव्रता दिए । व्यक्ति–व्यक्ति हुँदै यो फैलियो । 
बिटक्वाइनको प्रोटोकल
सुरुवातमा माइनिङबाट १० मिनेटमा ५० बिटक्वाइन निस्कन्थ्यो । हरेक चार वर्षमा प्रति १० मिनेटमा सिर्जना हुने बिटक्वाइनको संख्या आधा हुँदै जान्छ । दोस्रो चार वर्षमा यो प्रति १० मिनेट २५ बिटक्वाइन थियो भने अहिले प्रति १० मिनेट १२.५ बिटक्वाइनमा झरेको छ ।
विश्वमा २ करोड १० लाख बिटक्वाइन सिर्जना भएपछि नयाँ बिटक्वाइन सिर्जना हुन बन्द हुनेछ । त्यो समय आउन अझ १ सय २५ वर्ष बाँकी छ । अहिलेसम्म कुल बिटक्वाइनको ७६ प्रतिशत सिर्जना भइसकेको छ ।
जब माइनिङ गरेबापत नयाँ बिटक्वाइन सिर्जना हुन छोड्दछ, तब कसले भेरिफाइ गरिदेला भन्ने प्रश्न उठ्छ । त्यसका लागि कारोबारमा संलग्न व्यक्तिले केही कमिसन माइनिङ गर्नेलाई दिर्नुपर्ने नियम छ । 

Comments

Popular posts from this blog

के हो ब्लकचेन प्रबिधी?